Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

नेपालको उत्पतिवारे केही महत्वपूर्ण जानकारी


 

नेपाल एक प्राचीन मुलुकको रूपमा

विभिन्न धर्मशास्त्र तथा पुराणहरूमा नेपाललाई अत्यन्तै प्राचीन भूमिको रूपमा वर्णन  गरिएको छ । करीब १३ करोड वर्षअगाडि बनेका यहाँका पर्वत शृङ्खलाहरू र  उपत्यकाहरूमा पछि आएर प्राणीहरूको आकर्षण विशेष रूपमा बढ्दै गएको पाइन्छ ।  पश्चिम नेपालको बुटवलक्षेत्रमा पाइएको रामापिथेकस मानवको अवशेषले एक करोड  वर्षभन्दा अगाडिदेखि नै नेपालमा मानवको बसोबास सुरु भइसकेको तथ्य स्पष्ट हुन्छ ।

नेपाल नामको पहिलो उल्लेख अथर्व परिशिष्टमा गरिएको पाइन्छ । अथर्व  परिशिष्टको समय निश्चित गर्न नसकिए तापनि इसापूर्व ५००–६०० को बिचमा  यसको निर्माण भएको मानिन्छ । यसमा नेपाललाई कामरु, विदेह, उदुम्बर, अवन्ती  र कैकय देशहरूसँगै राखी चर्चा गरिएको छ । मूल सर्वास्तिवाद, विनयसङ्ग्रह  नामको बौद्ध ग्रन्थमा पनि नेपालबारे चर्चा गरिएको छ । यसमा भगवान बुद्धको समयमै उनका चेलाहरू व्यापारीहरूका साथ नेपाल पसेको घटना उल्लेख गरिएको छ । महाभारतको वनपर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ । जैन ग्रन्थको आवश्यक सूत्र तथा कौटिल्यको अर्थशास्त्र (ई.पू. चौथो शताब्दी) ले पनि नेपालको बारेमा उल्लेख गरेका छन्। त्यस्तै भारतीय गुप्त सम्राट समुद्रगुप्तले आफ्नो इलाहावाद अभिलेखमा नेपालको उल्लेख ‘छिमेक राज्यको रूपमा गरेका  छन् भने त्यसपछिका प्रायः सबै स्रोतहरूले नेपालको उल्लेख स्वतन्त्र राज्यको रूपमा  नै गरेका छन्। नेपालका शिलालेखहरूमा भने वि.सं. ५६९ को टिस्टुङ अभिलेखमा  पहिलोपटक नेपाल शब्दको उल्लेख भएको छ । यसरी यो मुलुक अत्यन्तै प्राचीन  समयदेखि नै ‘नेपाल’ नामबाट परिचित रहेको स्पष्ट हुन्छ । नेपाललाई सत्ययुगमा  सत्यवती, त्रेतायुगमा तपोवन र द्वापरयुगमा मुक्तिसोपान भनिन्थ्यो र कलियुगमा  नेपाल भन्ने गरिएको कुरा पौराणिक ग्रन्थहरूमा उल्लेख छ ।

 नेपाल नामकरणको आधार

नेपाल नाम प्राचीनकालदेखि नै प्रचलित छ । लिच्छविकालमा विस्तारित यो नाम  मल्लकालमा काठमाडौँ उपत्यका र वरिपरिमात्र सीमित रह्यो। एकीकरणपश्चात्  काठमाडौँ राजधानी भयो र ‘नेपाल’ शब्दले आजको नेपाल राष्ट्रलाई नै  बुझाउन थाल्यो।  नेपाल नामको बारेमा व्युत्पत्ति, विभिन्न भाषा, जाति, वंशावली र प्राचीन ग्रन्थहरूका  आधारमा वर्णन गरिएको पाइन्छ ।

भाषागत आधार नेपाल

किराती भाषा

नेपाल’ पौराणिक किराती शब्द ‘नेपा’ को सांस्कृतिक रूप हो। ‘ने’ को अर्थ ‘मध्य’ र ‘पा’ को अर्थ ‘देश’ अर्थात् ‘मध्यदेश’ हुन्छ । मध्यपर्वतीय खण्डमा रहेको ‘नेपा’ मा  पछि ‘ल’ प्रत्यय लागेर नेपाल नाम रहेको हो।

तिब्बती भाषा

तिब्बती भाषामा ‘ने’ को अर्थ घर र ‘पाल’ को अर्थ ऊन अर्थात ऊन हुने ठाउँको रूपमा यो क्षेत्रलाई लिइएको पाइन्छ । यस क्षेत्रमा भेडापालन बढी भएकाले पाल  अर्थात् पशम, पस्मिना (उन) प्रशस्त पाउनु स्वाभाविक हो। तिब्बतीहरू नेपाललाई  ‘वल्वो’ र मङ्गोलहरू ‘वल्पो’ भन्छन्। भोटनिवासीहरू हिमालपारीको यस भूभागलाई  ‘पालदेश’ वा ‘वाल्पो’ पनि भन्दछन्। 

नेवारी भाषा

नेवारहरूले नेपाललाई ‘नेपा’ मात्र भन्ने गर्दथे जो पछि नेपाल हुन गयो। ‘ने’ भनेको ‘मध्य’ र ‘पा’ भनेको ‘देश’ हो। हिमाली भागमा रहेकाले यो नाम सार्थक मानिन्छ ।  ‘नेपा’ शब्दमा ‘ल’ प्रत्यय लागि झ्याको झ्याल, पसःको पसल भएझै नेपाको नेपाल  भएको अनुमान गरिएको छ । 

लिम्बू भाषा 

लिम्बू भाषामा नेपालको अर्थ समतल भूमि भन्ने हुन्छ । पहाडी खण्डमा अत्यन्त  ठुलो मैदानी उपत्यका भएकाले यसको नाम नेपाल रहन गएको हो। लेप्चा भाषा  पुरानो लेप्चा भाषामा ‘ने’ को अर्थ पवित्र र ‘पाल’ को अर्थ गुफा हुन्छ । यसरी ‘नेपा’ ले पुण्यभूमि वा धार्मिक स्थल बुझाउँछ । नेपालका तामाङहरूले पनि तीर्थलाई  ‘ने’ भन्दछन्। लामा धर्मग्रन्थमा ‘ने’ को अर्थ पवित्र स्थानको रूपमा लगाइन्छ ।  खोटाङमा ‘नेपा’ गाउँ छ ।

संस्कृत भाषा

नीपः (पर्वतपाद) शब्दमा उपसर्ग आल (स्थान) जोडेर नेपाल भएको अनुमान  छ । हिमाल र पञ्चाल जस्तै नीपः (फेदी) र आलयः (निवास) बाट पर्वत फेदीको निवासका रूपमा नेपाल नाम रहेको भाषिक व्याख्या पनि गरिएको छ । यजुर्वेदमा  प्रयुक्त वैदिक शब्दमा ‘नीपः’ को अर्थ उपत्यका निवासी हुन्छ । नेपाल शब्दको मूल  ‘नीप’ भनिन्छ । ‘नीपः’ भनेको अशोक (कदंब) वृक्ष पनि हो। संस्कृतमा शिवको शैव भएझैँ नेपालको नैपाल शब्द प्रयोग भएको भेटिन्छ । पारस्परिक आख्यानमा  भाषागत शाब्दिक सानिध्य र ध्वन्यात्मक सङ्गति देखिए तापनि उपर्युक्त सन्धि  शब्दार्थ ठोस र प्रमाणित चाहिँ भएका छैनन्। 

तामाङ भाषा

तामाङ जातिका एक महापुरुष तिब्बतसँग व्यापार गर्दथे। यी तामाङ लामाकै नाइके बने। तामाङ लामा बोलीमा ‘ने’ भनेको स्तन हो। पृथ्वीको स्तनस्वरूप पर्वतबाट  पालित नेपालबाट व्यापार गर्ने महापुरुष पर्वतकै नाममा चिनिए र पर्वतको नामबाट  नै नेपाल भनियो। 

जातिगत आधार नेपाल

(क) नेपाल महात्म्यअनुसार ‘ने’ नामको ऋषिले यहाँका जनताको लालन पालन  गरेकोले यस देशको नाम नेपाल रहन गएको मानिन्छ । 

(ख) दक्षिण भारतको केरला क्षेत्रमा बस्ने मालबार जाति नेवार, सिम्रौनगढका  संस्थापक नान्यदेवको साथ यहाँ आएका थिए । यिनीहरूको आगमनपश्चात् यहाँको नाम नेपाल रहन गयो। नेपालका प्राचीन शासक गोपालवंशीहरूलाई निप  भनिन्थ्यो। उनीहरूको आलय (घर) लाई नेपाल भनियो। ‘नीप’ शब्दको उल्लेख  वैदिक ग्रन्थमा र पाणिनीको अष्टाध्यायिमा समेत भएको पाइन्छ । 

(ग) भोटमा नेपाललाई  (Balyal) अथवा वाप्लो भनिन्थ्यो भने चिनिया यात्रीले नि–पो–लो भन्ने गर्थे । किरातहरूको प्रमुख बस्ती भएकाले बौद्ध धर्मग्रन्थहरूमा  यहाँको नाम (नेवाल) र अंग्रेजीमा NIPAUL, NEPAUL, NIPAL  NEPAL  शब्दका  साथै भारतीयहरूद्वारा (नेपाल) शब्दको प्रयोग हुने गरेको छ । 

यस्ता विविध आधार र मान्यता भए तापनि वास्तवमा नेपाल नाम यसै कारणले  हुन गएको भनी किटान गर्न भने सकिएको छैन । तथापि मौलिक सभ्यता, संस्कृति  र कलाले गर्दा नेपालको स्वतन्त्र र अविछिन्न स्वरूप भने कायम रहेको कुरामा भने  मतान्तर छैन ।

नेपाल उपत्यकाको उत्पत्ति  कसरी भयो ?

लिच्छविकालभन्दा अघिको प्राचीन इतिहास भर पर्दो स्रोतहरूको अभावमा स्पष्ट हुन सकेको छैन । वंशावली र पुराणहरूको आधारमा मात्र यस युगको इतिहास अध्ययन गर्न सकिन्छ । ती ग्रन्थहरूमा भने नेपाल उपत्यका उत्पत्तिको सम्बन्धमा अनेक रोचक कथाहरूको वर्णन गरिएको छ । यस्ता स्रोतहरूले उल्लेख गरेअनुसार प्राचीन समयमा काठमाडौँ उपत्यका घना जङ्गलले ढाकिएको थियो र यसको बिच भागमा विशाल सरोवर थियो। सो सरोवरमा नागहरूको निवास भएकोले यसलाई नागदह भनिन्थ्यो। यहाँ बेलाबखतमा विपश्वी बुद्ध,  शिखी बुद्ध, विश्वभू बुद्ध, मञ्जुश्री बोधिसत्व, क्रकुच्छन्द बुद्धजस्ता विभिन्न  तपस्वीहरू आउने गर्दथे।

विपश्वी बुद्ध

नेपाल उपत्यकामा आउने प्रथम महात्मा विपश्वी बुद्ध थिए । यिनी आफ्नो स्थायी  निवास बन्धुमती नगरमा सत्ययुगमा नै आएको विश्वास गरिन्छ । यहाँ आएर उनी  नागार्जुन पर्वतमा बसे र केही समयपछि चैत्र शुक्ल पूर्णिमाको दिन नागदहको बिचमा कमलफूलको बीज रोपे। हिजोआज पनि चैत्र शुक्ल पूर्णिमाका दिन नागार्जुन  पर्वतमा मेला लाग्दछ र यो विपश्वी बुद्धकै सम्झनामा लागेको मेला हो भन्ने विश्वास गरिन्छ । 

शिखी बुद्ध

विपश्वी बुद्धले रोपेको बीजबाट छ महिनापछि आश्विन शुक्ल पूर्णिमाको दिन  एक अलौकिक फूल उत्पन्न भयो र त्यस फूलको बिचभागमा ज्योतिर्मय भगवान्  स्वयम्भू प्रकट भए । यसरी मत्र्यलोकमा स्वयम्भू भगवान्को आगमनको खबर सुनेर अरुणपुरका शिखी बुद्ध यहाँ आएर स्वयम्भूको आराधना गर्दागर्दै केही कालपछि  भगवानमा नै मिल्न गए । उनी आएर बसेको पर्वतलाई ध्यानोच्व पर्वत भनिन्छ ।  हरेक माघ १ गते त्यहाँ लाग्ने मेलालाई शिखी बुद्धको संस्मरणमा लगाइएको मेला  मान्ने चलन छ । 

विश्वंभू बुद्ध 

यिनी त्रेतायुगमा यहाँ आएका थिए । नेपाल उपत्यकामा आएर धेरै फूल भएको पर्वत छानेर आफ्नो आश्रम बनाई बसे। उनी बसेको पहाड फूलोच्च नामले प्रसिद्ध  भयो। यिनले नै पहिलोपल्ट उपत्यकाको पानी बाहिर जाने मार्गको बारेमा आफ्ना  चेलाहरूलाई अवगत गराएका थिए । 

मञ्जुश्री बोधिसत्व 

विश्वंभू बुद्ध फर्केको केही वर्षपछि त्रेतायुगमा नै चीनबाट मञ्जुश्री बोधिसत्वको यहाँ आगमन भयो। यी मञ्जुश्री बोधिसत्वको बारेमा वंशावलीहरूले थुप्रै वर्णन  गरेका छन्। उनले यहाँ आएर स्वयम्भूको दर्शन पाएपछि उपत्यकाको पानी बाहिर पठाउने विचार गरे। सरोवरको सम्पूर्ण भौगोलिक अध्ययन गरेर उनले कटुवाल

नामक स्थानमा उपत्यकाको पानी जाने बाटो बनाई स्वयम्भूदेखि गुह्येश्वरीसम्मको एक विशाल सहरको निर्माण गराए । त्यसपछि उनले धर्माकर नामक व्यक्तिलाई  नेपालको पहिलो राजा बनाए । मञ्जुश्री फर्केपछि उनका चेलाहरूले यस सहरको नाम नै मन्जुपत्तन राखे। मन्जुश्रीको नाममा हिजोआज श्रीपञ्चमीको दिन स्वयम्भुमा  चैत्य मेला लाग्छ । 

क्रकुच्छन्द बुद्ध

मञ्जुश्री बोधिसत्व फिर्ता भएपछि क्रकुच्छन्द बुद्ध स्वयम्भू ज्योतिको दर्शनार्थ यहाँ  आए । उनी यहाँ आएको बेला काठमाडौँमा पानीको अभाव देखेर गुह्येश्वरीसँग  प्रार्थना गरे। सो प्रार्थना सुनेर गुह्येश्वरीले शिवपुरीबाट बाग्मती पैदा गरिन् भनेर वशांवलीहरूले उल्लेख गरेको पाइन्छ । यी बुद्धले नेपालका राजा धर्माकार निःसन्तान  भएकाले उनीपछि धर्मपाललाई यहाँको राजा बनाएको कुरा पनि वंशावलीमा  उल्लिखित छ । 

राजा धर्मपालपछि उनकै वंशज सुधन्वाले त्रेतायुगको अन्तसम्म नेपाल उपत्यकामा  शासन गरे। उनी सीताको स्वयंवरमा जनकपुर जाँदा जनकका भाइ कुशध्वजद्वारा  मारिएको कथा वंशावलीमा वर्णित छ । त्यसपछि केही समय नेपाल मिथिलाको नियन्त्रणमा रह्यो। 

द्वापरयुगको अन्ततिर गौड देशका राजा प्रचण्डदेव स्वयम्भू र गुह्येश्वरीको दर्शनार्थ  नेपाल आएको बेलामा स्वयम्भूको समीपमा वसुपुर, अग्निपुर, वायुपुर, नागपुर र शान्तिपुर नामका पाँच कुटीहरूको निर्माण गरेको तथा कलियुग आएको थाहा पाई  कलियुगी मानव स्वयम्भू ज्योतिको दर्शन गर्न असमर्थ रहने छन् भन्ने विश्वासमा  उनले स्वयम्भू ज्योतिलाई पत्थरले ढाकी त्यसमाथि एक चैत्य खडा गरेको कथा  वंशावलीमा उल्लेख छ । सो समयमा उपत्यकाको राजगद्दी खाली भएको हुँदा उनै प्रचण्डदेवका छोरा शक्तिदेवले यहाँ आफ्नो नियन्त्रण कायम गरे। वंशावलीहरूमा  उनीपछि गुणकामदेव, शक्तिदेव तथा सिंहल आदिले यहाँको राजपाट सम्हालेको कुरा  उल्लेख गरिएको छ ।

स्रोत नेपाल परिचय / नवौ संस्करण

Post a Comment

Previous Post Next Post