Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

लिखत तयार गर्ने कार्यविधि_परिच्छेद-दुई

 



परिच्छेद-दुई

लिखत तयार गर्ने कार्यविधि

 

लिखत भन्नाले दुई वा सो भन्दा बढि पक्षबीच कुनै काम गर्ने वा नगर्ने वा कानूनी हक दायित्व श्रृजना गर्ने, वा छुट दिने तथा परित्याग गर्ने प्रकृतिको ब्यहोरा उल्लेख गरी लिखित रुपमा तयार भएको कागजलाई जनाउँछ। अदालतमा पेश हुने फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, उजुरी सरहको निवेदनपत्र र सरकारी कार्यालय वा संगठित संस्थामा पेश हुने वा त्यस्तो निकायबाट जारी हुने लिखित दस्तावेजलाई समेत लिखत भनिन्छ। यसका अतिरिक्त घरायसी लेनदेन कारोवार, सम्पत्ति हस्तान्तरण, धर्मपुत्र तथा धर्मपुत्री राख्ने र अख्तियारी वा मञ्जुरी दिने लिखत कागज पनि लिखत अन्तर्गत पर्दछन्।

यस्ता लिखतहरू तयार गर्दा कारणीको पहिचान खुल्ने गरी नाम, थर, उमेर, ठेगाना, नागरिकता र लिखत तयार गर्दाको मुकाम (स्थान) समेत खुलाउनु पर्छ। लिखत तयार गर्दा साक्षी राखी निजहरूको र कारणीहरूको समेत सहिछाप हस्ताक्षर गराउनु पर्छ। लिखत स्पष्ट बुझिने भाषामा केरमेट नगरी कानूनले तोकेको रित पुर्‍याई तयार गर्नुपर्छ।

मूलतः देवानी संहिताले लेनदेन कारोवारसँग सम्वन्धित घरासारका रु ५०,०००। भन्दा बढिको लिखतको आधिकारिकता र विश्वस्नियताको लागि स्थानीयतह वा सोको वडासमितिको कार्यालयबाट प्रमाणित गराउनुपर्ने नयाँ पद्धतिको ब्यबस्था गरेको छ। रित नपुगेको लिखतले कानूनी मान्याता पाउन नसक्ने हुँदा अदालतमा दर्ता हुने तथा प्रमाणका रुपमा पेश हुने लिखतहरूको रीत ढाँचा मिले नमिलेको र दस्तुर दाखिल भए नभएको हेर्नुपर्छ। लिखतको रीत ढाँचा तथा तयारी सम्वन्धमा देवानी कार्यविधि संहितामा देहायबमोजिम ब्यबस्था गरिएको छ।

विषय

कार्यविधि

कानून

लिखतको परिचय

देहायका कागजातलाई लिखत भनिन्छः

·   घर व्यवहारमा हुने सबै किसिमका लेनदेन व्यवहार, सम्पत्ति हस्तान्तरण वा धितो बन्धक दिने गरी भएको लिखत, 

·   धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी लिखत,

·   करार, 

·   अख्तियार दिएको लिखत, अख्तियारनामा, मञ्जुरीनामा वा त्यस्तै प्रकृतिका अन्य कागज, 

·   सरकारी कार्यालय वा सङ्गठित संस्थामा पेश हुने कुनै पनि लिखत, 

·   अदालतमा पेश हुने फिरादपत्र, प्रतिउत्तरपत्र, पुनरावेदनपत्र, निवेदनपत्र, दरखास्त लगायत जुनसुकै किसिमको लिखत,

·   सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट जारी हुने लिखत,

·      कानूनी हक वा दायित्व सृजना गर्ने वा नगर्ने अन्य कुनै लिखत।

 

देकासं दफा २८

 

 

लिखत तयार गर्दा पुर्‍याउनु पर्ने रीत

 

 

·      लिखतमा कुनै अशुद्धि र केरमेट नहुने गरी छापी, टाईप गरी वा हातले लेखी तयार गरी कारणीले सहीछाप गर्नु पर्छ।

·      "कारणी भन्नाले लिखतको व्यहोराबाट सहीछाप गर्नुपर्ने जिम्मेवारी भएको व्यक्ति सम्झनु पर्छ।

·      लिखतमा सच्याएको वा केरिएको प्रत्येक ठाउँमा सम्बन्धित कारणीले सहीछाप गर्नु पर्छ।

·      लिखत सच्याउन नसकिने वा सच्याउँदा द्विविधा उत्पन्न हुने भएमा अर्को लिखत तयार गर्नुपर्छ।

·      लिखतमा रकम उल्लेख गर्दा अङ्क र अक्षर दुवैमा लेख्‍नुपर्छ।

 

 

दफा २८

सहीछाप गर्दा पुर्‍याउनु पर्ने रीत

·      लिखतमा सहीछाप गर्दा लेख्‍न जान्नेले आफ्नो नाम, थर, वतन लेखी हस्ताक्षर गर्नुपर्छ र लेख्‍न नजान्नेले ल्याप्चे सहीछाप गर्नुपर्छ।

·      देहायका लिखतमा सहीछाप गर्दा रीतपूर्वक औँलाको ल्याप्चे सहीछाप र लेख्न जान्नेले आफ्नो हस्ताक्षर समेत गर्नु पर्दछ।

o   हक छाडी दिएको वा धितो बन्धक राखेको,

o   मञ्जुरीनामा वा अख्तियारनामा,

o   सट्टापट्टापत्र, बण्डापत्र, अंश छोडपत्र, अंश बुझेको भरपाई,

o   मानो छुट्टिएको, मानो जोडिएको,

o   धर्मपुत्र वा धर्मपुत्री सम्बन्धी,

o   ऋण फिर्ता बुझाउँदा छुट्टै गरिदिएको भरपाई,

o   भोगबन्धकी, दृष्टिबन्धकी, लखबन्धकी,  कबुलियतनामा जमानीपत्र,  भाखापत्र,

o   नासो धरौट लिए दिएको करार,

o   कपाली तमसुकको लिखत।

·      सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट गरिने लिखतमा सम्बन्धित अधिकारीले आफ्नो नाम, दर्जा र मिति खुलाई हस्ताक्षर गरी अड्डाको छाप लगाउनु पर्छ।

दफा २९ र ३०

हस्ताक्षर र दस्तखत गर्दा पु पुर्‍याउनुपर्ने रीत

·      हस्ताक्षर वा ल्याप्चे सहिछाप गर्दा देवानी कार्यविधि संहिताको दफा ३१ देखि ३४ सम्म उल्लेखित प्रकृया अवलम्बन गर्नुपर्छ।

 

दफा ३१ देखि ३४

विशेष अवस्थाका व्यक्तिको लिखत गर्दा

·      दृष्टिविहीन, बोल्न नसक्ने, नाबालक वा होस ठेगानमा नभएका व्यक्तिको तर्फबाट लिखत गराउँदा निजको संरक्षक वा माथवर भए निजलाई समेत रोहबरमा सहीछाप गराउनु पर्छ।

दफा ३५

घरायसी लिखत प्रमाणित गराउने

·      रू. ५०,०००। भन्दा बढी रकमको घरसारमा तयार भएको लिखत सम्बन्धित पक्षहरू स्थानीय तह वा वडा समितिको कार्यालयमा उपस्थित भई सक्कल लिखतको शिरमा त्यस्तो कार्यालयबाट प्रमाणित गराउनु पर्छ।

·      तर पक्षहरूले चाहेमा रू. ५०,०००। भन्दा कम रकमको लिखत पनि प्रमाणित गराउन सकिन्छ।

·      यसरी प्रमाणित गर्दा सो कार्यालयले रू. २००।सम्म दस्तूर लिई अभिलेख राख्‍नुपर्छ।

·      यस्तो रीत नपुगेको लिखत अदालतबाट कार्यान्वयन हुन सक्दैन।

दफा ३६

लिखतमा खुलाउनुपर्ने पहिचानको विवरण

·      लिखतमा मुख्य कारणीको पहिचान खुल्ने देहायका विवरण खुलाउनु पर्छः

o   तीन पुस्तेको विवरण,

o   पति वा पत्नीको नाम,

o   नागरिकता नम्बर,

o   उमेर,

o   नागरिकता जारी भएको मिति र जिल्ला,

o   स्थायी तथा अस्थायी ठेगाना,

o   विदेशी नागरिक भए निजको नागरिकताको विवरण, राहदानी नम्बर, राहदानी जारी गर्ने मुलुक र राहदानी जारी भएको मिति तथा निजको ठेगाना, ईमेल ठेगाना, फोन नम्बर आदि।

o   संरक्षक र माथवरलाई रोहवरमा राख्दा निजको समेत उल्लेखित विवरणहरू खुलाउनु पर्छ।

दफा ३७

सङ्गठित संस्थाको विवरण

·      सङ्गठित संस्थाको तर्फबाट सहीछाप गर्दा संस्थाको पहिचान खुल्ने विवरण, दर्ता नम्बर ठेगाना लगायतका विवरण खुलाई अधिकार प्राप्त व्यक्तिको सहीछाप गर्नु वा गराउनु पर्

·      संगठीत संस्था कारणी भएको लिखतमा ३ पुस्ते खुलाउनु पर्दैन।

दफा ३८

सार्वजनिक पदाधिकारीको हस्ताक्षर

·      सार्वजनिक पदाधिकारी वा सङ्गठित संस्थाका पदाधिकारीले पदीय हैसियतमा कुनै लिखतमा हस्ताक्षर गर्दा ल्याप्चे सहीछाप आवश्यक हुने भनी उल्लेख भएका लिखतमा बाहेक ल्याप्चे सहीछाप आवश्यक पर्दैन। नाम र दर्जा खुलाई सहीछाप गरे पुग्छ।

·      त्यसरी नाम र दर्जा नखुलाएको भए अदालतले त्यस्ता पदाधिकारीलाई रू. ५००।- सम्म जरिबाना गरी सो लिखतलाई प्रमाणमा लिन हुन्छ।

दफा ३९

लिखत भएको ठाउँ र मिति

·      लिखत तयार गर्दा लिखत भएको ठाउँ र मिति उल्लेख गर्नुपर्छ।

दफा ४१

साक्षी राख्नु पर्ने

·      साक्षी राखी तयार गर्नु पर्ने लिखतमा करार गर्न योग्य कम्तीमा दुई जना व्यक्ति साक्षी राखी त्यस्ता साक्षीको पहिचान खुल्ने विवरण र ठेगाना उल्लेख गरी साक्षीले समेत सहीछाप गर्नुपर्छ।

·      होस ठेगाना भएको र उमेर पुगेको सक्षम (१८ वर्ष पुगेको) ब्यक्ति करार गर्न योग्य हुनेहुँदा त्यस्ता ब्यक्ति साक्षी राख्नु पर्छ।

·      लिखतमा लेखकको विवरण उल्लेख गरी सहीछाप गर्नुपर्छ।

·      कुनै लिखत तयार गर्न ईजाजतपत्र (लाईसेन्स) लिनु पर्ने भए लेखकले त्यसको विवरण समेत उल्लेख गर्नु पर्

देकासं दफा ४२,

देसं ५०६

सामान्य रीत नपुगेको लिखतले मान्यता पाउने बिशेष अवस्था

·      लिखतमा रीत नपुगेको भएपनि देहायको अवस्थामा लिखतको प्रकृति हेरी रू. २००।- सम्म जरिबाना गरी त्यस्तो लिखतलाई मान्यता दिन सकिन्छः

o   लेख्न जान्नेले हस्ताक्षर मात्र गरी ल्याप्चे सहीछाप नगरेको वा प्रष्ट नदेखिने गरी गरेको,

o   लेख्न जान्नेले हस्ताक्षर नगरी ल्याप्चे सहीछाप मात्र गरेको,

o   लिखतको पुछारमा मिति टुङ्गिएको ठाउँमा कारणीको सहीछाप नगराएको,

o   साक्षी नराखेको वा राखेको साक्षीको हस्ताक्षर नगराएको,

o   नाम, थर, वतन र दर्जा समेत लेख्नु पर्नेमा कुनै वा सबै छुटाएको।

·      कानून बमोजिम विद्युतीय माध्यमबाट लिखत तयार गर्न सकिनेमा  त्यसरी तयार गरिएको लिखतलाई रीत पूर्वकको मानिन्छ।

देकासं

दफा ४३

कारणीले लेखेको लिखत मान्य हुने

·      कारणी स्वयंको हस्ताक्षरबाट लेखिएको लिखतमा अन्य रीत नपुगेको भए पनि मान्य हुन्छ।

दफा ४४

कैफियत जनाई लिखत दर्ता गर्न सकिने

·      कुनै ब्यक्तिले अक्षर बुझिने गरी थपी केरमेट गरी दर्ता गर्न ल्याएको लिखतमा त्यसरी थप वा केरमेट गरेको ठाउँमा निजको सहीछाप गराई थप वा केरमेटको विवरण कैफियत जनाई दर्ता गर्नु पर्छ।

·      कुनै सरकारी कार्यालय वा सङ्गठित संस्थाबाट दर्ता गराउन ल्याएको लिखतमा कुनै अक्षर थप वा केरमेट भई त्यस्तो कार्यालय वा संस्थाको प्रमुख वा निजबाट अधिकार प्राप्त अधिकारीले दस्तखत गरेको भएमा सोही लिखत दर्ता गर्न  सकिन्छ।  

·      उल्लिखित रीत नपुगी कुनै लिखत दर्ता गर्न ल्याएमा त्यस्तो जुन कारणले लिखत दर्ता गर्न नहुने हो त्यसको कारण खुलाई लिखतको पीठमा सो कुरा लेखी मिति समेत राखी आफ्नो दस्तखत गरी दर्ता गर्न ल्याउनेको भरपाई गराई लिखत फिर्ता दिनु पर्छ।

·      तर, अदालतमा दर्ता भएको कुनै पनि लिखत कसैलाई फिर्ता दिई अर्को साटी लिन र अङ्क अक्षर थपी मेटी, केरी, घटीबढी गर्न हुँदैन।

दफा ४५

लिखतको प्रतिलिपि (नक्कल) उपलब्ध गराउने सम्वन्धमा

·      अदालत, सरकारी कार्यालय वा सङ्गठित संस्थामा  पेश भएको प्रमाण सम्बन्धी लिखत वा फैसला लगायत मुद्दाको मिसिल संलग्न कागजपत्रको प्रतिलिपि माग गरी मुद्दाको सरोकारवाला वा निजको कानून व्यवसायीले निवेदन दिएमा प्रतिलिपि उपलब्ध गराउनु पर्छ।

·      फैसलाको प्रतिलिपि जुनसुकै कानून व्यवसायीले लिन पाउँछन्।

·      प्रतिलिपि लिदा आफैले सारी लिने भए  प्रति पृष्ठ रु ५। र अड्डाबाट सारी दिने भएमा रु १०। दस्तूर लाग्छ।

·      यस्तो प्रतिलिपि प्रमाणित गरी उसैदिन उपलव्ध गराउनुपर्छ।

·      कानून बमोजिम गोप्य राख्नु पर्ने वा सार्वजनिक गर्न नहुने लिखत वा अदालतले सार्वजनिक नगर्न आदेश दिएको लिखतको प्रतिलिपि उपलब्ध गराउनु हुँदैन।

दफा ४६

 

 

 

 

 

Post a Comment

Previous Post Next Post