नेपालमा सवारीचालक अनुमतिपत्र प्राप्त गर्न के–कस्ता व्यक्ति अयोग्य मानिने व्यवस्था छ ?
नेपालमा सवारी दुर्घटनाको रोकथाम गर्न, दुर्घटनाबाट पीडित पक्षलाई क्षतिपूर्ति दिलाउन, बीमा व्यवस्था गर्न, सरल एवम् सुलभ यातायात सुविधा उपलब्ध गराउन, यातायात सेवालाई सुदृढ, सक्षम तथा प्रभावकारी बनाउन तर्जुमा गरिएको सवारी तथा यातायात व्यवस्था ऐन–२०४९ ले देहायका व्यक्तिहरू सवारीचालक अनुमतिपत्र प्राप्त गर्न अयोग्य मानिने गरेको छ ः
(क) ठूलो सवारीको निमित्त २१ वर्ष उमेर नपुगेको व्यक्ति,
(ख) मझौला र सानो सवारीको निमित्त १८ वर्ष उमेर नपुगेको व्यक्ति,
तर मोटरसाइकल तथा त्यस्तै अन्य सानो दुईपाङ्ग्रे सवारीको निमित्त १६ वर्ष उमेर पुगेको व्यक्तिले सवारी चालक अनुमतिपत्र प्राप्त गर्न सक्ने व्यवस्था छ,
(ग) छारे रोग भएको वा बौलाएको वा एकाएक रिङ्गटा लाग्ने वा मूर्छा हुने किसिमको रोग भएको व्यक्ति,
(घ) आँखाको देख्ने शक्ति कमजोर भई चस्मा प्रयोग गर्दा पनि सामान्य तवरले देख्ने शक्ति ठीक नभएको व्यक्ति,
(ङ) साधारण ध्वनि सङ्केत, आवाज सुन्न नसक्नेगरी बहिरो भएको व्यक्ति,
तर त्यस्ता व्यक्तिको सवारीचालक क्षमतासम्बन्धमा परीक्षण गराई तोकिएकोबमोजिमको मापदण्ड पूरा भएका सडकमा मात्र सवारी चलाउ नपाउने गरी सवारीचालक अनुमतिपत्र दिन सकिने,
(च) रातो, हरियो, पहेँलो इत्यादि रङहरू तुरून्त छुट्याउन नसक्ने दृष्टिदोष भएको व्यक्ति,
(छ) रतन्धो भएको व्यक्ति,
(ज) हातखुट्टा शक्तिहीन भई काम दिन नसक्ने भएको व्यक्ति ।
तर अपाङ्गको निमित्त खास किसिमले बनेको सवारीका निमित्त यो बन्देज लागू नहुने व्यवस्था छ ।
Tags:
अन्य