Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

तनहुँ जिल्लाको संक्षिप्‍त परिचयः

 

तनहुँ जिल्लाको संक्षिप्‍त परिचयः




      तनहुँ जिल्ला नेपालको राजधानी देखी करिव 110 कि.मि पश्चिम रहेको साविक पश्चिमाञ्चल विकाश क्षेत्र अन्तरगत गण्डकी अञ्चलमा रहेको थियो। हाल गण्डकी प्रदेशमा पर्ने एउटा पहाडी जिल्ला हो। तनहुँको सदरमुकाम हाल दमौली हो। तनहुँको पुरानो सदरमुकाम र राणाकालिन व्यापारीक केन्द्र बन्दीपुर रहेको थियो। यस जिल्लाको पूर्वमा चितवन र गोरखा, पश्चिममा स्याङ्गजा उत्तर सिमानामा कास्की र लमजुङ्ग दक्षिणमा पाल्पा, नवलपरासी र चितवन रहेको छ।१० स्थानीय तहमा विभाजित तनहुँमा ४ नगरपालिका र ६ गाउँपालिका छन्। भानु न.पा., व्यास न.पा., शुक्लागण्डकी न.पा., भिमाद न.पा., आँबुखैरेनी गा.पा., बन्दीपुर गा.पा., देवघाट गा.पा., म्याग्दे गा.पा., ऋषिङ गा.पा. र घिरिङ गा.पा. रहेका छन।

      धार्मिक, ऐतिहासिक, सामाजिक तथा राजनीतिक दृष्टिकोणबाट ख्याति कमाएको यस जिल्लामा महर्षि वेदव्यास देखि आदिकवि भानुभक्त आचार्य र उनकै समकालिन घाँसी जन्माउने तथा कर्म प्रदान गर्ने जिल्लाको रुपमा स्मरण गरिन्छ। यस जिल्ला समकालिन युगमा पनि कैयौं विद्वान् एवं राजनीतिज्ञहरुको जन्म तथा कर्मथलोको रुपमा हरेक क्षेत्रबाट उर्वर र सम्भावनायुक्त मानिन्छ। पर्यटकीय तथा धार्मिक दृष्टिले यस जिल्लाका कैयौं स्थानहरु जस्तैः व्यास नगरपालिका, बन्दिपुर नगरपालिका, देवघाट, आदि प्रख्यात रहेकाछन्। विविधतायुक्तका हिसाबले पनि यस जिल्ला भौगोलिक, जैविक, सामाजिक, आर्थिक, सांस्कृतिक आदि क्षेत्रमा परिचित रहेको छ ।


तनहुँ जिल्लाका स्थानीय तहहरू

 

स्थानीय तह

वडा सङ्ख्या

केन्द्र

भानु नगरपालिका

१३

फुस्रेटार

भिमाद नगरपालिका

भिमाद

व्यास नगरपालिका

१४

दमौली

शुक्लगण्डकी नगरपालिका

१२

दुलेगौंडा

आँबुखैरेनी गाउँपालिका

आँबुखैरेनी

देवघाट गाउँपालिका

देवघाट

बन्दिपुर गाउँपालिका

बन्दिपुर

ऋषिङ्ग गाउँपालिका

कोटदरबार

घिरिङ गाउँपालिका

पाेखरीछाप

म्याग्दे गाउँपालिका

छाङ्ग

 

 

तनहुँ जिल्लाको नामकरण कसरी रहन गयो ?

तनहुँ जिल्लाको नामाकरणको सम्बन्धमा विद्बानहरुको विभिन्नखाले फरक फरक मत पेश भएको देखिन्छ। यिनै विद्बानहरुको मतको आधारमा केही विषयहरुलाई हेरौ।

1. नामाकरण बारे सत्यतथ्य प्रमाण प्राप्त गर्न नसकिए पनि प्राप्त जानकारी अनुसार तनहुँको राजधानी तनहुँसुर वरपरका ३ वटा चुचुराहरू जहाबाट तनहुँ राज्यको सुरक्षा व्यवस्था हेरिन्थ्यो सोहि ३ चुचुरालाई आधार मानेर भएर कालान्तरमा तनङ्गु र पछि तनहु हनु गएको हो।

2. "वासुदेव रसानन्द" संस्कृत ग्रन्थमा तनहुको तात्पर्य "त्रितङ्गु राजधन्यो" भनेर लखेको पनि पाइन्छ।

3. यस भेगका प्रमुख स्थानको नाउँको पछाडि "हुँ" ("काहुँ, मान्हुँ आदि) भनिने गरेकोले "तनङ्ग"मा "हुँ" थपिएर "तर्नङ्गहु" हुँदै तनहुँ भएको पनि उत्तिकै पत्यारिलो देखिन्छ।

4. प्राचीन समयमा तनहुँको दुई ठाउँमा तमारे र तामिन भन्ने गाउँ थिए र ती गाउँको नाउँबाट अपभ्रंश भएर पछि तनहुँ रहनुका साथै तनहुँ राजधानी रहेको तनहुँसुरमा र दमौली माथिको मानङ्गु डाडँमा क्रमशः चिउडो सानो भएका (तनहुनु) र चिउँडो ठुलो भएका (महाहनु) ऋषिले तपस्या गरको हुनाले आज यस रूपमा तनहुँ र मानहुँ नाम बन्न/रहन गएको भन्ने पनि किंबदन्ती छ।

5. मगर भाषामा काहूँ (काट हूँक) एकबाँस, मान्हूँ (मानी न्हूँ) मानीढुङ्गा र तनहूँ (टान न्हूँ) तानढुङ्गाबाट नामाकरण भएको हो। किनभने त्यस वरपर सबै स्थानका नाम पद मगर भाषासंग नजिक छन्। कलेस्ती, रम्घा, चु्दी, ब्यासडी, बुलडी, माँडी, छाप्डी, गुणाडी, खुँदी, कुन्हूँ आदि।

ऐतिहासँक पृष्ठभूमी

दरिलो ऐतिहासिक पृष्ठभूमि बोकेको तनहुँ जिल्ला महर्षि वेदव्यासको जन्मभूमि तथा कर्मभूमिका रुपमा सर्व परिचित रहेको सन्दर्भ माथि उल्लेख गरिसकिएको छ । साहित्य क्षेत्रका प्रख्यात आदिकवि भानुभक्त आचार्यको यसै जिल्लाको चुंदीको रम्घा गाउँमा जन्म भएको थियो । त्यही क्षेत्रमा आफ्नो कर्मथलो बनाएका घाँसीबाट (जसले घाँसी कुवा समेत निर्माण गरेका थिए) प्रेरणा पाएका भानुभक्तले सर्वप्रथम रामायणलाई नेपाली भाषामा उल्था गरी जनमानसमा पु¥याएका थिए । आज पनि नेपाली भाषामा अनुवादित उक्त रामायण अत्यन्त लोकप्रिय छ । तसर्थ, भाषाका माध्यमबाट नेपालको एकिकरणको श्रेय भानुभक्तलाई पनि जाने गर्दछ । तनहुँ राज्यको इतिहासमा प्रथम शासकका रुपमा लिच्छविहरु र त्यसपछि नुवाकोटे ठकुरीहरुको शासन चलेको थियो । सेनवंशी राजाहरुको शासनपूर्व तनहुँमा मगरहरुका ससाना राज्यहरु कायम भएका थिए । पाल्पाका राजा मुकुन्दसेन प्रथमको शेषपछि उनका छोरा भृङ्ग सेनले तनहुँमा स्वतन्त्र राज्य स्थापना गरे । उनले तनहुँसुरलाई आफ्नो राजधानी कायम गरेका थिए । उनको समयमा तनहुँको पहाड खण्डका साथै दक्षिणतर्फको चितवन र पश्चिमतर्फको रिसिङ्ग तनहुँ राज्य अन्तर्गत पर्दथे । पछि गएर यस राज्यमा रामनगर र राजपुर समेत समावेश गरिएका थिए । भृङ्ग सेन पछि क्रमशः हम्वीर सेन, तुला सेन, प्रताप सेन (राजा नभएका), दामोदर सेन, दिग्विजय सेन, कामराजदत्त सेन, त्रिविक्रम सेन, कमारिदत्त सेन र हरकुमारदत्त सेन तनहुँका राजा भए । त्यसरी नै वि.सं. १८४० पूर्व यो जिल्ला विशाल थियो र चौबिसी राज्यमा त्रिशक्ति राज्यको रुपमा कहलिएको थियो । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले समेत यो राज्यलाई एकीकरण गर्न असफल भएका थिए । तत्कालिन अवस्थामा यो जिल्ला हालको भूगोलका अतिरिक्त चितवन र भारतको विहार प्रान्तको पश्चिमी चम्पारन अन्तर्गतको रामनगर तथा बेतिया जिल्लाको भू–भागमा फैलिएको पाइन्छ । पछि प्रतापसिंह शाह र राजेन्द्रलक्ष्मीको एकीकरण अभियानमा वि.सं. १८३९ मा करिव २०० बर्ष देखि स्वतन्त्र रहिआएको तनहुँ नेपाल अधिराज्यमा गाभिएको थियो । पछि राणा प्रधानमन्त्री चन्द्रशम्शेरको शासनकालमा पश्चिम ३ नं. इलाकामा (तनहुँ, कास्की, लमजुङ, र मनाङ) परेको तनहुँ प्रशासनिक नियन्त्रणमा वि.सं.१९८१ सालसम्म बडाहाकिमको कार्यालय वन्दीपुरमा रहेको थियो । त्यसपछि वि.सं. २०१८ सालमा नेपाल अधिराज्यलाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गरिएपछि वि.सं. २०२० सालदेखि यो जिल्ला छुट्टै जिल्लाको रुपमा रहेको छ ।

तनहुँको हावापानी कस्तो रहेको छ?

विशेषगरी नेपालमा हिन्द महासागरबाट आउने मनसुनले बर्षा हुनाले तनहुँमा दक्षिण पश्चिम मनसुनी हावापानीको प्रभाव परेको पाइन्छ। यस जिल्लामा बर्षायाम अर्थात्जेठदेखि असोजसम्म नियमित बर्षा हुन्छ भने पश्चिमी भागबाट बहने हिउँदे हावाले हिउँदताका बर्षा हुन्छ। यहाँको भू–धरातलिय स्वरुप अनुसार अग्ला लेकहरुमा ठण्डा हावापानी पाइन्छ भने बेसी, टार, फाँटहरुमा गर्मी हावापानी पाइन्छ। यस हिसाबले जिल्लाको भौगोलिक संरचना अनुरुप विद्यमान पहाड, बेसी, टार तथा समथर खेतीयोग्य फाँटहरुको कारण उचाईको अवस्थिति अनुरुप विभिन्न जलवायुको प्रचुर्यता यहाँ पाइन्छ। विशेष गरी यहाँको हावापानीलाई निम्नानुसार तीन भागमा बाँड्न सकिन्छ ।

१) उपोष्ण प्रदेशीय (Sub-Tropical) समुद्री सतहबाट १००० मीटरसम्मको उचाइमा अवस्थित विशेषगरी तनहुँ जिल्लाको फाँट, टार र बेसी भूभागमा यस किसिमको हावापानी पाइन्छ। यस क्षेत्रमा गर्मी याममा निकै गर्मी हुने र जाडो याममा निकै जाडोका साथै हिउँदका हरेक दिन अबेरसम्म कुहिरो लाग्ने गर्दछ। पहिला पहिला मानिसहरु औलोको डरले यस क्षेत्रमा बसोबास गर्न डराउँथे भने आजकल औलो नियन्त्रण भइसकेका कारण तथा यातायात लगायत विभिन्न भौतिक पूर्वाधारको विकासले यस क्षेत्रमा घना बस्तीको विकास हुदै गइरहेको छ।

२) समशीतोष्ण (Warm Temperature) समुद्री सतहबाट १००० मीटरदेखि २००० मीटरसम्म विशेषगरी तनहुँ जिल्लाको डाँडापाखा र भन्ञ्याङमा यस प्रकारको हावापानी पाइन्छ। तनहुँ जिल्लाका अधिकांश मानिसहरु यही क्षेत्रमा बसोबास गर्दछन्। कृषि व्यवसायका लागि पाखोबालीको प्रचुर सम्भावना भएको यस क्षेत्रमा मकै, कोदो, फापर, अदुवा, जुनेलो, तोरी, तिल, मास, गहत, भटमास, बोडी, सुन्तला, निबुवा, कागती आदि खेती हुन्छ। यस क्षेत्रको हावापानीलाई ज्यादै स्वस्थकर मानिन्छ ।

३) शीतोष्ण जलवायु (Semi-Alpine) समुद्री सतहबाट २००० मीटरभन्दा माथि विशेषगरी तनहुँ जिल्लाका लेक तथा अग्ला पहाडका उच्च स्थानहरुमा यस किसिमको हावापानी पाइन्छ। यस्ता पहाडका चुचुराहरुमा मानब बस्ती पनि खासै छैन। केही लेकहरुमा त कहिलेकाँही हिउँदमा हिउँ समेत पर्दछ।

जिल्लामा विविध जलवायु विद्यमान हुनुका सहायक कारक तत्वहरुमा उत्तरी हिमालय श्रृङ्खलाहरु अन्नपूर्ण, माछापुच्छ्रे तथा लमजुङ्ग हिमालको प्रभावको साथै मादी, मस्र्याङ्दी, कालीगण्डकी, सेती तथा नारायणी जस्ता नदीहरु र स्थानीय खोलाहरुले पनि तटवर्ती क्षेत्रहरुमा आद्र्रता बढाउन सहयोग गरेका छन्। तनहुँ जिल्लामा ऋतु अनुसार तापक्रममा परिवर्तन हुने गर्दछ । गर्मी याममा यहाँको तापक्रम अधिकतम ४१ डिग्री सेल्सियस र हिउँदमा न्युनतम तापक्रम ३ डिग्री सेल्सियस भन्दा कम पुग्ने गर्दछ । पश्चिमाञ्चल क्षेत्रीय हावापानी कार्यालय, पोखराबाट नियमित रुपमा तनहुँ जिल्लाका तीनवटा स्टेशनबाट मौसम सम्बन्धी तथ्यांक रेकर्ड राखिंदै आएको छ । विगत दश बर्षको तथ्यांक विश्लेषण गर्दा सबभन्दा बढी तापक्रम २०१४ को मे महिना (३८ डिग्रील्सियस) दमौली स्टेशनबाट र सबभन्दा कम तापक्रम २०१३ को जनवरी महिना (६.२ डिग्री सेल्सियस) खैरेनीटार स्टेशनबाट रेकर्ड भएको थियो ।



प्रमुख प्राकृतिक सम्पदा

क) मूख्य नदी तथा खोलाः जलश्रोतका हिसाबले यस जिल्ला निकै धनी छ । यस जिल्लाको सीमावर्ती क्षेत्र र भित्री भागबाट बहने हिमवत खण्ड मूल भई बगेका कालीगण्डकी, त्रिशुली, मस्र्याङ्दी, मादी र सेती जस्ता नदीहरुको साथै महाभारत श्रृङ्खला क्षेत्र र आसपासमा मूल भएका नाउँदी, रिस्ती, कलेस्ती, बुल्दी, छाब्दी, साँगे, म्याग्दे, बाङ्गे, ज्वाला, नाहाला, दिउला, ढाडे, चुँदी, क्याङ्गदी, सुरौदी, गोफा, जिदी, नौबिसे, धारुङ्ग, सुकौरा, फाउदी, साल्दी, कुलिन, आदि गरी करिब १५७ वटा खोलाहरु स्थायी एवं मौसमी जलश्रोतका रुपमा जिल्लाका विभिन्न भागबाट बगेका छन्। सानाठूला नदी तथा खोला गरी कुल लम्बाई सरदर ८६४ कि.मि. हुन्छ । तनहुँ जिल्ला अधिराज्यको नौ जिल्ला मध्ये मूल रिभर बेसिमा पर्दछ ।ज्ञघ यद्यपी सतह नमिलेको कारण उच्च प्रविधिको प्रयोग गरेर मात्र सिंचाई नहर तथा विद्युत उत्पादनमा यहाँको जलश्रोत उपयोग गर्न सकिने अवस्था छ। तनहुँ जिल्लाका नदी र मुख्य खोलाहरु तथा तिनको लम्बाई यस प्रकार छ ।


ख) वनजंगलः यस जिल्ला रुखयुक्त वनक्षेत्र ७१,७१५.२२ हेक्टर, झाडीयुक्त वनक्षेत्र ६,३९६ हेक्टर गरी जम्मा ७८,१११.२२ हेक्टर वनले ढाकेको छ । अर्थात्, जिल्लाको कुल भू–भागको ५०.५२ प्रतिशत भू–भाग वनवनेलो छ भने बाँकी ४२.०८ प्रतिशत कृषियोग्य क्षेत्र, २.७८ प्रतिशत चरन र ४.६२ प्रतिशत अन्य क्षेत्र रहेको छ। जिल्ला वनकार्यालय, तनहुँको आर्थिक बर्ष २०७०÷७१ को रेकर्ड अनुसार यस जिल्लामा २२.७४ हेक्टर क्षेत्रफलमा नीजि वन, ३८७८८.४४ हेक्टर क्षेत्रफलमा सामुदायिक वन रहेको छ । त्यसैगरी ४३२०१.४४ हेक्टर धार्मिक वन र १७३०.३१ हेक्टर कबुलियती वन रहेको छ। जलवायुका आधारमा यस जिल्लाको वनलाई तीन प्रकारमा विभाजन गर्न सकिन्छ। १) उष्ण प्रदेशीय वन  २) उपोष्ण प्रदेशीय वन र ३) तल्लो शितोष्ण प्रदेशीय वन

यस जिल्लामा काष्ठ वन प्रजाति अन्तर्गत साल, अस्ना, कर्मा, चिलाउने, कटुस, मौवा, दवदवे, सिमल, बोटधयरो, जामुन, सिरिस, ताम्पाते, खिर्रो, चाँप, खयर, खोटेसल्ला, खमारी, लालीगुराँस, रातपाते, बाँझ, खर्सु, तिजु, बाँझी, झिंगन, पड्के, सिसौ आदि पाइन्छ भने जडीबुटी एवं गैरकाष्ठ वन प्रजाति अन्तर्गत कुरिलो, हर्रो, बर्रो, मधेशी खिर्रो, अमला, टिमुर, असुरो, बोझो, तितेपाती, तेजपात, वेल, चिराइतो, सर्पगन्धा, सुगन्धवाल, चुत्रो, जीवन्ती÷सुनगाभा, घोलटाप्रे, लालीगुराँस, मजिठो, गुर्जो, कण्टकारी, राजवृक्ष, लज्जावती, छतिवन, हडचुर, अम्रिसो, निगालो, बाँस, लप्सी, नागवेली, झ्याउ, भोर्ला, लप्सी, भ्याकुर, वनतरुल, बावियो, काफल, भकिम्लो, आँखीतारे, सिमली, खयर, आँक, केतुकी, वँयर, रिठ्ठा, सिन्दुरे, ऐसेलु, कुकुरडाइनो, जामुन, धाइरो, अल्लो, सिउँडी, सजिवन, मुसली, किम्बु, कम्मरु, नारेश्वर, करिपत्ता, निउरो, कोइरालो, वनकेरा आदि पाइन्छ ।

ग) गुफा ओडारः यस जिल्लामा नेपालकै सबैभन्दा ठूलो गुफा देखि ऐतिहासिक तथा धार्मिक महत्वका थुप्रै गुफाहरु छन् अझै खोज तथा अनुसन्धानकै क्रममा रहेका पनि छन्। पहिचान भइसकेका केही प्रमुख गुफाहरु निम्नानुसार रहेका छन्।




ग) खनिज सम्पदाः चिनिया यात्री हुएनसाङ्ग र फाइयानले नेपाल खनिज सम्पदा मध्ये फलाम र तामा निकासी गर्न सक्ने मुलुकको रुपमा चित्रण गरेका थिए । कर्कप्याट्रिकले १८ औं शताब्दीको अन्त्यतिर यात्रा वृतान्तमा नेपालको तामा बढी गुणवान रहेको र स्लेट खानी प्रशस्त भएको देखाएका छन्। यीनै भनाइका बिच तनहुँ खनिज श्रोतमा सम्पन्न जिल्ला हो। तनहुँ जिल्लाका केही प्रमुख खानी तथा खनिज पदार्थहरु निम्नानुसार रहेका छन्।

१. फलाम खानीः ढोरफिर्दी तामाकोटमा अवस्थित फलाम खानी वि.सं. २०१८ सालमा उपयोग गरिएको थियो । उक्त फलाम खानीबाट निकालिएको फलाम भिमाद पुलमा लठ्ठा बनाइएको थियो। त्यसैगरी छाब्दी, भिमाद, भिरकोट, शाँखेका साथै बन्दीपुरकोलब्दी खोलामा करिब १ करोड ८ लाख मे.ट.ज्ञछ फलाम खानी रहेको अनुमान छ । यो फलाम खानी बन्दीपुरको लब्दी खोलादेखि भूतखोलासम्म फैलिएको छ। त्यसैगरी क्याङदी खोला र वचाङ्दी पनि उच्चस्तरका फलाम खानी हुन्।

२. तामा खानीः वन्दीपुरको आसपासमा हिलेखर्क भूतखोलामा सम्भावित तामाखानी रहेको छ। साथै बन्दीपुरको लब्दीखोलामा पनि तामाखानी रहेको छ। लब्दीखोला आसपास पानीखोला, कुलखोला र सिद्धिखोलामा पनि तामाखानी रहेको छ। यस जिल्लाको उत्तर मिर्लुङ्गकोट र आँबुखैरेनीको खानीगाउँ ठाउँहरुमा स्थानीय तामाका भाँडाहरु पाइनुले पनि यस जिल्ला तामाको खानी सम्भावित केन्द्रका रुपमा लिन सकिन्छ ।

३. स्लेट खानीः बन्दीपुर आसपास क्षेत्रहरुमा स्लेट खानी रहेका छन्। जिल्लाका विभिन्न स्थानहरुमा ढुङ्गा खानी रहेकाछ भन्ने चुनपहरामा चुनढुङ्गाका लागि प्रख्यात रहेको छ ।

प्रमुख धार्मिक, साँस्कृतिक तथा पर्यटकीय क्षेत्रहरु



क) धार्मिक स्थलहरुको विवरणः यस जिल्लामा विभिन्न धार्मिक सम्प्रदायहरुले मानी आएका प्रख्यात धार्मिक स्थलहरु रहेका छन्। धार्मिक आस्था, पुजापाठ आदिका लागि यस्ता स्थानहरुमा मानिसहरु आफ्नो आस्था बमोजिम तीर्थ यात्रा गर्ने, भेला हुने, सत्संगत गर्ने, प्रार्थना गर्ने गर्दछन्भने पर्यटकहरु यी स्थानहरुमा अवलोकनका लागि जाने गर्दछन्। यस जिल्लाका प्रमुख धार्मिक स्थलहरु निम्नानुसार रहेका छन्।

 



 


ख) पर्यटकीय स्थलहरुको विवरणः

यस जिल्लाका धार्मिक पर्यटकीय स्थलहरुको जानकारी तालिका २.७.१ मा उल्लेख गरिसकिएको छ । यसका साथै यहाँका ऐतिहासिक स्थलहरु जस्तै घाँसीकुवा, भानु जन्मस्थल, तनहुँसुर दरबार, मानुङकोट, मिर्लुङकोट, कोटदरबार, बन्दिपुर, छिम्केश्वरी लेक, थप्रेक, भिमाद पर्यटनका लागि ज्यादै महत्वपूर्ण क्षेत्रहरु हुन्। त्यसैगरी मान्हुँ डाँडा (पैदलयात्रा र प्यारा ग्लाइडिङ गर्न सकिने), सेती÷मादी (¥याफ्टिङ गर्दै नारायणगढ सम्म पुग्न सकिने), सिद्धगुफा, चुन पहरा (रक क्लाइम्बिङ गर्ने स्थान), बन्दिपुर, मनाङ्ग–लुम्बिनी बुद्ध शान्ति पदमार्ग (२० दिन, ४५०० मी. देखि १०० मी.सम्म, तनहुँमाः कुन्छा–घाँसीकुवा–घडेरी), मगर हेरिटेलल ट्रेल ((दमौली–लुम्बिनी ७ दिन, भीमाद – अरुणोदय – रघु– चित्रेभञ्ज्याङ्ग – क्याक्मि – पुरकोट – केलादीघाट – मित्यालडाँडा – आरुङ्गखोला – लुम्बिनी÷चितवन, समुन्द्र सतहबाट १४५३ मि.–१०० मि. सम्म), मानहुँकोट ट्रेक (दमौली–भीमाद १ रात २ दिन, दमौली–मानहुँकोट – वच्र्याङ्ग – किलचोक – छाङ्ग – भीमाद, समुन्द्र सतहबाट ११०० मि.–३२० मि.सम), बन्दिपुर – छिम्कालेक ट्रेक (बन्दीपुर–आँबुखैरेनी २ रात ३ दिन, बन्दीपुर – झारगाउँ– हिलेखर्क– छिम्केश्वरी – लाब्दी – आक्लाङ्ग – भाँगे – आँबुखैरेनी, समुन्द्र सतहबाट २१३४ मि.–५०० मि.सम्म), क्यासमिरी पदमार्ग (दमौली – कुन्छा – दमौली २ रात ३ दिन, दमौली – कलेस्ती – छापथोक – क्यामिन कालिका – वसाहास्थान – चयनडाँडा – ठुलोढुङ्गा – टुटेपानी – मिर्लुङ्गकोट – पुलिमराङ्ग – कुञ्छा – दमौली, समुन्द्र सतहबाट १६५४ मि.–३२० मि.सम्म), कोइदिम बैदी पदमार्ग (दमौली – बैदी – सुडेपूल ३ रात ४ दिन, दमौली – कोइदिम – ग्वास्लुङ्ग – गुम्लेक – दुबुङ्ग – नाजुङ्ग – सुडेपूल – दमौली, समुन्द्र सतहबाट १२३० मि.–२५० मि. सम्म), ढोरफिर्दीको मिलेनियम ट्रेकिङ्ग रुट (ढोरफिर्दी–मनकामना ७ दिन, ढोरबाराही – फिरफिरे – मिलेनियम केभ – विसौना – पोखरीछाप – बुढाकोट – मनकामना, समुन्द्र सतहबाट १७०५ मि.–४२५ मि.सम्म), भानु घाँसी पदमार्ग (दमौली–बन्दीपुर ३ दिन, दमौली – घाँसीकुवा – धरम्पानी – तनहुँसूर – भगवतीपानी – नावरुङ्ग – चूँदी — बिमलनगर – बन्दीपुर, समुन्द्र सतहबाट १२४७ मि.–३२० मि.सम्म), बन्दिपुर दमौली पदमार्ग (बन्दीपुर – दमौली १ दिन, बन्दीपुर – रामकोट – कुलुङ्ग – छाब्दीबाराही – दमौली, समुन्द्र सतहबाट ११०० मि.– ३२० मि.सम्म), मिर्लुङ्गकोट पर्यटन पदमार्ग (चुँदीरम्घा–पोखरा ७ दिन, चुँदीरम्घा – दोरदोर — थानीकोथान – चोककोट – मिर्लुङ्गकोट – पुलिमराङ्ग – जीताकोट – तान्द्राङ्गकोट – नागभैरवकोट – भोर्लेटार – करापुटार – स्याकलुङ्गकोट – रुपाकोट – बेगनासताल – पोखरा, समुन्द्र सतहबाट २१००० मि.–३२० मि.सम्म), आदि साथै माथि उल्लेख गरिएका अन्य गुफाहरु पनि पर्यटकहरुका आकर्षणका केन्द्र विन्दु हुन्।

पर्यटकीय सम्पदाका आधारमा तनहुँका प्रमुख १२ पर्यटकीय क्षेत्रहरु निम्नानुसार छन्।


१. छिम्केश्वरी क्षेत्र

२. बन्दीपुर क्षेत्र

३. भानु जन्मस्थल क्षेत्र (भानु)

४. तनहुँसूर क्षेत्र

५. मिर्लुङ्गकोट क्षेत्र

६.सेतीगण्डकी क्षेत्र

७.कालीगण्डकी करीडोर क्षेत्र

८.रिसिङ्ग रानीपोखरी क्षेत्र

९.ढोरबाराही क्षेत्र

१०.दगामभूजिकोट क्षेत्र

११.व्यास जन्मभूमि क्षेत्र (दमौली)

१२.हाइवे टुरिज्म क्षेत्र (पृथ्वी राजमार्ग)

साथै विशेष जातजातिहरुको बाहुल्य रहेका केही पर्यटकीय स्थानहरु निम्नानुसार छन्।

·         मगरः रहु, रुम्सी, गोल्ला, रामकोट, कोइदीम, गगलथोक (तनहुँसुर), खुदी, सेटाङ्ग, मानहुँ, केशवटार आदि

·         गुरुङ्गः धरमपानी, झारगाउँ, हिलेखर्क, फिरफिरे, थप्रेक, टुटेपानी, पुलिमराङ्ग, मेवाबारी, छापथोक, खहरे, ग्याजाटार आदि

·         नेवारः बन्दीपुर, मैवल, तनहुँसुर, सुन्धारा, क्रियापानी, दलभञ्ज्याङ्ग, साबुङ, बसन्तपुर आदि

·         दरैः भादगाउँ, दुम्सीचौर, डिहीगाउँ, रतौली, खकौली, सिमलटार, पोल्याङ्ग, पतेनी आदि

 






ग) व्यापारिक महत्वका बजार तथा स्थानहरुः व्यापारिक बजारका रुपमा यस जिल्लाका दमौली, खैरेनीटार, भिमाद, दुलेगौंडा, कोत्रे, ढोरफिर्दी, आँबुखैरेनी, विमलनगर, डुम्रेबजार, चन्द्रावती, सेपा बगैंचा, भन्सार, तुरतुरे, पुर्कोट, बन्दिपुर, थर्पु, कलेस्ती, सत्रसय, बरादी, जामुने, टुहुरेपसल, बाइसजाँगर आदि रहेका छन्। साँस्कृतिक रुपले यी बजारहरुमा विभिन्न महोत्सव, मेला तथा जात्रा पनि लाग्ने गर्दछ । यस्ता मेला वा पर्वहरुमा विभिन्न जातजातिहरुले आफ्नो संस्कृति र परम्परा अनुसारका झाँकी तथा नाचगान प्रदर्शन गर्ने तथा मनोरञ्जन गर्ने गराउने गर्दछन्।

बसाइँसराइको अवस्था

जनसंख्या परिवर्तनका प्रमुख तत्वहरु जन्म, मृत्यु र बसाइँसराइ हुन् । बसाइँसराईका केही सबल पक्ष भएता पनि समग्रमा यसले विभिन्न पक्षका जनसाँख्यिक वितरणमा हलचल भई प्रशासनिक व्यवस्थापन देखि आर्थिक, सामाजिक तथा साँस्कृतिक समस्या पनि निम्त्याउन सक्दछ । जनसंख्या परिवर्तनको एक प्रमुख सूचकको रुपमा बसाइँसराईलाई लिइएको हुन्छ र यससँग सम्बन्धीत सुचनाहरु यस क्षेत्रको अध्ययनका लागि ज्यादै महत्वपूर्ण मानिन्छ । यद्यपी नेपालमा बसाइँ सराइको पर्याप्त अध्ययन अनुसन्धान भएको पाईदैन । केन्द्रीय तथ्यांक विभागले सञ्चालन गर्ने जनगणनाहरुमा जिल्लास्तरमा हुने बसाइँसराइ समेट्ने गरी तथ्यांक लिइएको पाइन्छ । नमुना छनौटको सिद्धान्तमा आधारित रहेर व्यक्तिको जन्म जिल्ला, हाल बसोबास गरेको जिल्लाको बसाइ अवधि तथा पाँच बर्ष अगाडि बसोबास गरेको जिल्लाको विवरणका आधारमा बसाइँ सराइको विवरण लिइएको पाइन्छ । पछिल्लो जनगणना २०६८ मा पनि लगत २ बाट यस किसिमको तथ्यांक संकलन गरिएको थियो । सो जनगणनाबाट तनहुँ जिल्लामा प्राप्त केही महत्वपुर्ण आँकडाहरु निम्नानुसारका तालिकामा प्रस्तुत गरिएको छ ।



 संकलन/ सम्पादन

 धनु लेकाली

 

 

 

Post a Comment

Previous Post Next Post