Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

वर्तमान सन्दर्भमा माक्सवादको प्रयोग

 



वर्तमान सन्दर्भमा माक्सवादको प्रयोग

प्रेमराज सिलवाल

माक्र्सवाद र माक्र्सवादी दर्शन भनेको जीवन र जगतलाई बुझ्ने, अध्ययन गर्ने र समाजलाई बदल्ने वैज्ञानिक, भौतिक र वस्तुवादी विचार हो, मान्यता हो, दर्शन र सिद्धान्त हो । दार्शनिक कार्ल माक्र्सको सबल पक्षमध्येमा सोच र सोच्ने तरिका हो भने इतिहासको अध्ययन गरी नयाँ विचार दिनु हो । मूल रूपमा सोच्ने तरिकामा चिन्तन, मनन, निरन्तरता र फड्को हुन्छ भन्ने माक्र्सको दर्शन हो । माक्र्सले नै मानव समाजलाई गतिशीलतामा बुझ्नुपर्छ भनेका थिए । माक्र्सले त्यस अघिका थुप्रै दर्शन, सिद्धान्त र विचारको अध्ययनपछि द्वन्द्वात्मक भौतिकवादको सिद्धान्तको विकास गरे ।

सन् १८४८ मा माक्र्स र एङ्गेल्स मिलेर कम्युनिष्ट घोषणपत्र लेखे जसमा सर्वहाराको अधिनायकत्वबारे उल्लेख थियो । लण्डनमा उनको रुचि अर्थशास्त्रमा पनि गयो र उनले दास क्यापिटलिजम (पुँजी) जस्ता चर्चित पुस्तक लेखे । जर्मनका तत्कालीन दार्शनिक हेगेलको आदर्शवादी द्वन्द्ववादले उनलाई छोयो । सत्रौँ शताब्दी अघिसम्मका सबैजसो दार्शनिक ईश्वर, प्रकृति, धर्म र पादरीहरूको आदेश र इच्छाबाटै समाज सञ्चालित हुन्छ भन्ने मान्यता राख्दथे । हेगलले द्वन्द्वात्मक आदर्शवादको विचार सार्वजनिक गरेका थिए । रुसका नेता लेलिनले लेखेका थिए – ‘हेगेल नपढ्दासम्म कार्ल माक्र्सलाई बुझ्न नसकिने रहेछ । ’ माक्र्सले हेगेलको आदर्शवादलाई पचाएर भौतिकवादी द्वन्द्ववादको सिर्जना गरे । हेगेल र कार्ल माक्र्सको विचारमा भएका प्रमुख भिन्नताबाट माक्र्स विश्वभर चर्चामा आएका थिए र छन् ।

हेगेल आदर्शवादी, धार्मिक, राज्यमा विश्वास गर्ने, अदृश्य शक्तिप्रति विश्वास राख्ने र मूल रूपमा भन्दा आर्थिक असमानता र गरिबीको कारण अदृश्य शक्ति वा धार्मिक हो भन्ने मान्यता राख्दथे । हेगेलको त्यस्तो आदर्शवादी, अवैज्ञानिक र अवस्तुवादी दर्शनलाई माक्र्सले पहिलोपटक पूर्णत ः खारेज गरिदिए । उनले गरिबीको कारण आर्थिक शोषण र असमानता हुने, पुँजीपति वा धनी वर्गले निरन्तर श्रमिक, किसान र आम जनतालाई वर्गीय शोषण गरेका कारण नै वर्गीय असमानता हुने स्पष्ट विचार दिए । धार्मिक अन्धविश्वास एउटा भ्रम मात्र हो भन्दै विज्ञानवाद, भौतिकवाद र वस्तुवादी दृष्टिकोणलाई एकमात्र सिद्धान्त भने । समाजमा हुँदा खानेलाई सधैँ हुने खानेले शोषण गर्ने भएकोले त्यसबाट मुक्तिका लागि श्रमिक, किसान र आम नागरिकले निरन्तर क्रान्ति र सङ्घर्ष गर्नुपर्ने, परम्परावादी कानून, मान्यता र राज्यको अवधारणालाई उखेल्नुपर्ने विचार दिँदै श्रमिकको सर्वाेच्चताको वकालत गरे ।

विश्वमा प्रभाव

सार्थक सङ्गठनका लागि सार्थक विचारको नेतृत्वकर्ता चाहिन्छ, क्रान्ति एउटा व्यापक र निरन्तर गतिविधि हो र त्यसका निम्ति व्यक्तिभन्दा वर्गको अवस्थिति र अवस्था जान्नुपर्छ भन्ने माक्र्सको मान्यता थियो तर सोभियत सङ्घमा सन् १९१७ मा समाजवादी सत्ता आएपछि माक्र्स र एङ्गेल्सको देवत्वकरण गरियो । उनका रचनालाई बाइबल र कुरानजस्तै ठानियो । माक्र्सवाद रुसको राजधर्म बन्यो । त्यसले माक्र्सवाद र त्यो दर्शनको बुझाइमा पनि सङ्कुचन ल्याइदियो । सन् १८७१ मा फ्रान्स आएको मजदुरको सत्ता वा पेरिस कम्युन ७२ दिनमा ढल्यो, व्यवस्थापन र नियन्त्रणको ज्ञान, कला, सीप र क्षमता भएन । माक्र्सवादी दर्शनको प्रभावको कारण सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम सङ्गठनको स्थापना गरी मजदुरका हक, हित र अधिकारको क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने कार्यको थालनी भयो । त्यसपछि युरोप र अमेरिकामा मात्र होइन विश्वभरका पँुजीपतिले मजदुरलाई सेवा सुविधा र अधिकार बढाएर आफ्नो हितको रक्षा गर्ने अभियान नै थाले भने सोही दर्शनको प्रभावको कारण सन् १९६६ मा नागरिक तथा राजनीतिक अधिकारसँगै आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई नागरिकको न्यूनतम विश्वव्यापी मानवअधिकारको रूपमा स्वीकार गरी लागू गरियो ।
माक्र्सवादी दर्शन र नेपालको सन्दर्भ

दार्शनिक कार्ल माक्र्स र लेनिनको दर्शनबाट प्रेरित भएर सन् १९४९ अप्रिल २२ मा नेपालमा कम्युनिष्ट पार्टीको गठन गरियो । सोही दर्शन, सिद्धान्त र मूल्य र आदर्शबाट सन् १९५१ देखि निरन्तर सामाजिक–राजनीति, आर्थिक अधिकार तथा सांस्कृतिक अधिकारको आन्दोलन र राजनीतिक सङ्घर्ष भएका छन् । सन् १९९० को परिवर्तनपछि संविधानमा श्रमिक, सर्वहारा र हुँदा खाने गरिबको अधिकारको संवैधानिक व्यवस्था गरियो । नेपालको राजनीतिमा दार्शनिक कार्ल माक्र्सको दर्शनको व्यापक प्रभाव रहिआएको छ । मजदुर, श्रमिक, सर्वहारा र पीडित जनताको पक्षमा निरन्तर वकालत गर्ने वामपन्थी पार्टीलाई जनताले सन् १९९१ पछिका सबैजसो निर्वाचनमा व्यापक मत दिएका छन् । पार्टीले पनि श्रमिक, आम नागरिक र हुँदा खाने गरिब जनताको अधिकारको पक्षमा सङ्घर्ष र वकालत गरी आएको इतिहास छ । सोही आन्दोलनको सफलतापछि बनेको सन् २०१५ (वि.सं २०७२) को संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख राज्य प्रणालीका लागि अघि बढी जनताका व्यापक सामाजिक, राजनीतिक, आर्थिक अधिकारको पक्षमा राज्यले कार्य गर्ने उल्लेख गर्ने अर्थका वाक्यहरू उल्लेख गरिएका छन् भने संविधानको धारा १६ देखि धारा ४६ सम्म नागरिकका विभिन्न आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारलाई संवैधानिक प्रबन्ध गरिएका छन् । श्रम ऐन, २०४८ जस्ता थुप्रै कानून श्रमिक, मजदुर र पीडितका पक्षमा लागू भएका छन् ।

माक्र्सवादको सिर्जनात्मक प्रयोग

माक्र्सवाद कुनै धर्मशास्त्र वा कुरानको व्यवस्था वा मन्त्रजस्तो होइन । यो सिद्धान्तलाई जुन देश, पार्टी वा समूहले धर्मशास्त्र वा कुरानजस्तो बनाए वा सम्झे वा सोअनुसारको सिद्धान्त लागू गरे वा व्यवहार गरे, ती सबै सिद्धिए । समय, आवश्यकता र औचित्यका आधारमा जनताको चाहनाअनुसार आफूलाई सुधार र परिवर्तन गर्ने दल, मुलुक वा समूहलाई जनताले रुचाए वा बचाए । नेपालमा माक्र्सवादको सिर्जनात्मक प्र्रयोगको सिद्धान्त र विचार जननेता मदनकुमार भण्डारीले नेकपा एमालेको पाँचौँ महाधिवेशनमा पेश गरेपछि त्यो जनताको बहुदलीय जनवाद (जबज)को सिद्धान्त बन्यो । माक्र्सवादलाई कुनै पार्टीको विचार वा सिद्धान्तको रूपमा बुझ्ने सोच त्याग्नुपर्छ, त्यो बुझाइ नै माक्र्सवादलाई नबुझ्ने बुझाइ हो । माक्र्सले त्यो बेलाको सन्दर्भ, समय, परिस्थितिमा भनेका कुरा हुबहु आज लागू हुने होइन । तर त्यसको अर्थ उनको दार्शनिक बुझाइलाई बदल्नुपर्छ भन्ने होइन । समय, आवश्यकता, औचित्य र देशअनुसार त्यसको सिर्जनात्मक प्रयोग व्यावहारिक र बुद्धिमानी कुरा हो । भौतिक सुविधाको प्रयोग गर्दा माक्र्सवादी विरोधी भइने होइन तर त्यसले सामाजिक परिवर्तन, श्रमिक र आम जनताको हितमा प्रयोग गर्न सहयोगी बन्न सक्ने अवस्थामा त्यस्तो प्रयोग गर्दा नराम्रो हुने पनि होइन । सिद्धान्त गतिशील हुनुपर्छ, जडसूत्रको रूपमा व्याख्या गर्नु हुन्न, समाजका आफ्ना विशेषता हुन्छन् र सोहीअनुसार अगाडि बढ्नुपर्छ । संसार बदल्ने र इतिहासका निर्माता कुनै राजा–महाराजा, ईश्वर, पादरी वा महात्मा होइनन् श्रमजीवी र मजदुर, किसान र स्वतन्त्र नागरिक हुन् । समय, आवश्यकता, औचित्य, देश, काल र परिस्थितिअनुसार माक्र्सवादलाई बुझ्नुपर्छ, प्रयोग गर्नुुपर्छ । माक्र्स हाल छैनन् तर माक्र्सवादी दर्शन आज पनि विश्वमा र नेपालमा पनि जीवित छ र रहनेछ । माक्र्सवादको थप सिर्जनात्मक प्रयोग आजको सन्दर्भमा बढी सान्दर्भिक देखिन्छ । नेपालको सामाजिक, राजनीतिक, आर्थिक, सांस्कृतिक लगायतका सबै नीति र मुद्दामा कुनै न कुनै रूपमा माक्र्सवादी दर्शनको प्रभाव प्रत्यक्ष÷अप्रत्यक्ष रही आएको सत्य छर्लङ्ग छ । माक्र्सवादी विचार र सिद्धान्तबाट प्रेरित भएर नेपालमा तत्कालीन एमालेको सरकारले सामाजिक सुधार र वृद्धभत्तालगायतका कार्यक्रम लागू गरेको थियो भने हालै श्रममन्त्री गोकर्णराज विष्टको पहलमा सरकारले मजदुर तथा श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षासम्बन्धी आर्थिक व्यवस्था र कार्यक्रमको घोषणा गरी लागू हुनेक्रममा रहेको छ ।  माक्र्सको दर्शन नेपालमा मात्र होइन विश्वका राजनीति शास्त्र, इतिहास, अर्थशास्त्र, कानून जस्ता विषयमा डिग्री लिने विद्यार्थीका लागि अनिवार्य विषयका रूपमा कुनै न कुनै पक्षबाट अध्ययन÷अध्यापन गराइँदै आएको पाइन्छ । त्यस अर्थमा माक्र्सवादी दर्शनको सान्दर्भिकता आज पनि उत्तिकै देखिन्छ । वर्तमान नेपालमा माक्र्सवादी दर्शनलाई अलग गरेर कुनै राजनीतिक कार्यक्रम–योजना बन्ने अवस्था छैन ।

 

Post a Comment

Previous Post Next Post